धनुषा – भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ। जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए।
सो भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्याइने छ। भारमा विभिन्न प्रकारका कपडा, आभूषण र भाडाबर्तनका साथै मिठाई तथा पकवान रहने उनले जानकारी गराए। महन्थ वैष्णवका अनुसार जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलङ्गवाबाट सिम्रौनगढ, गढीमाई हुँदै वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ। भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ गरेर वीरगञ्जको जानकी नगरद्वार हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर र अयोध्यामा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको उनको भनाइ छ। ६ तारिकका दिन विधिवत् राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
उक्त भार यात्राका लागि एक हजार एक सय सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको र यसको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले गर्नेछन्। जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ।