पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
उक्त आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए। आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए। उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन्। तर कार्यालय समय सकिएकाले उनी रिहा हुन भने पाएनन्।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले अब उनी बुधबार मात्रै छुट्न लागेका हुन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा छोड्न आदेश दिएका अरु आरोपीहरु धरौटी रकम बुझाएर यसअघि नै रिहा भए पनि रकम बन्दोबस्त गर्न नसक्दा रिजाल थुनामुक्त भएका थिएनन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्य विरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।