संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश भनेर संविधानमै लेखिएको हुनाले कसैको डरत्रासमा नबस्न आग्रह गरे ।
यसैक्रममा उनले भने, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’
क्रिश्चियनहरुको तालीमा देखिएको समर्थन माहोल देखेपछि मन्त्री किरातीले भने, ‘विश्वमा ८५ प्रतिशतले धर्म मान्छन्, १५ प्रतिशतले धर्म मान्दैनन् । धर्म मान्नेहरुको कुल संख्यामध्ये ३० प्रतिशतले क्रिश्चियन मान्छ । यो संसारकै ठूलो धर्म हो ।’
आफू धर्म नमान्ने व्यक्ति भन्दै उनले धार्मिक आस्था र राजनीतिलाई पनि मिसमास गरे । उनले नेपालमा माओवादीले गरेको सशस्त्र युद्ध र जिसस क्राइस्टको धार्मिक आह्वानलाई तुलना गरे ।
‘नेपालमा हामीले जनयुद्ध गर्दा सत्रहजार मानिसहरु जिससजस्तै झुन्डिए, झुन्ड्याइए’, किरातीले भने, ‘आजको धर्मनिरपेक्ष संविधान त्यसै अनुसार आएको हो । रगतले साटेर परिवर्तन आएको हो । यसलाई दुई चार हाप्सिला (फ्याउरा) कराउँदैमा हटाउन सकिँदैन ।’