रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको छ। यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।
ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।