सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने बताएकी छन् ।
आइतवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तोबताउएकी हुन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पारिन् । उनले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताउइन् । उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘सरकारले लय गुमायो कि भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराको विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरु केही परिवर्तन हुन्छ कि भन्ने कुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन । यो सम्भावना तत्काल छैन ।’