तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।
मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।
भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।
मृतक शाहका भाई मंगल शाहले भने, ‘उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका हौं । शव आउने /नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेका हौं ।’