ओपनर फिलिप साल्टको शतकमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिज इंग्ल्यान्ड २-१ मा ल्याएको छ।
जितको लागि २ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा फिलिप साल्टले ५६ बलमा ४ चौका र ९ छक्कासहित १ सय ९ रनको अविजित शतकीय इनिङ खेले । उनको यो टि२० आई अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।
कप्तान जस बटलर ३४ बलमा ५ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । पहिलो विकेटका लागि फिलिप साल्ट र जस बटलरले ११.५ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।
अन्तिम ओभरमा जितको लागि इंग्ल्यान्डलाई २१ रन चाहिँएको थियो । युवा ब्याटर ह्यारी ब्रुकले आन्द्रे रसेललाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का हानेका थिए । त्यस्तै चौथो बलमा दुई र पाँचौं बलमा छक्का हान्दै रोमान्चक जित दिलाए । ब्रुकले ७ बलमा १ चौका र ४ छक्कासहित ३१ रनको अविजित इनिङ खेल्दै सहज जित दिलाए ।
लियाम लिभिङस्टोन १८ बलमा ३ छक्कासहित ३० रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर, आन्द्रे रसेल र गुडाकेश मोटीले १-१ विकेट लिए ।
त्यसअघि नेशनल क्रिकेट स्टेडियम सेन्ट जर्जमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धाारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । वेस्टइन्डिजका निकोलस पुरनले ४५ बलमा ६ चौका र ६ छक्कासहित ८२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
कप्तान रोभम्यान पावेल ३९, शेर्फान रदरफोर्ड २९, आन्द्रे रसेल ८, जेसन होल्डर १८, ब्रेन्डन किंग ८ र कायल मेयर्स शून्यमा आउट भए ।
इंग्ल्यान्डका साम करन र आदिल राशिदले समान दुई विकेट लिए । मोईन अली र रिस टोप्लीले एक एक विकेट लिएका थिए । अव तेस्रो खेल बुधबार र पाँचौं खेल शुक्रबार हुनेछ । सुरुवाती दुई खेलमा वेस्टइन्डिज ४ विकेट र १० रनले विजयी भएको थियो ।