हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।
आइतबार पुरुषोत्तम भगवान् राम र जगत्जननी सीताको डोला बिचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए । दुवै कार्यक्रमको तयारी पूरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने उनले बताए ।
यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।
सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार ११ स्क्यावर फिट ठुलो सीतारामको आकृति तयार गरिएको छ।
प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । बेलाबेला प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताए ।