नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशपछि खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो। बयान पछि विभागले १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई २०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो ।