चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै डाक्टर गोविन्द केसीले आजदेखि प्रस्तावित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरू गर्ने भएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जनाएका हुन्।
केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्।
‘सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो।’
केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउन पनि माग राखेका छन्।