धनगढी फुटबल क्लब नेपाल सुपर लिग २ मा अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा धनगढीले फुटबल क्लब चितवनलाई १-० ले पराजित गर्यो । खेलको दोस्रो मिनेटमा ओलावाले आफिजले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ।
पहिलो हाफकै इन्ज्युरी समयमा चितवनले बराबरी गर्न पेनाल्टीको अवसर पाएको थियो । तर विमल घर्ती मगरको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाएर अग्रता कायम राखे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न सकेनन् ।
जितसँगै धनगढी ५ खेलमा ३ जित र २ बराबरीका साथ ११ अंक जोड्दै शीर्षस्थानमा छ । चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा कायम छ ।