सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन्।
महोत्तरी जिल्ला अदालतले बिहीबार सांसद कोइरीलाई सफाइ दिने आदेश दिएको हो। मधेश प्रदेश सभा सदस्यसहित सात जनालाई भने अदालतले जन्मकैद फैसला सुनाएको छ।
प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।
न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले फैसला गरेको हो।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो। उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो। यो मुद्दाका १९ जना अभियुक्तहरु अझै फरार छन्।