लघुकथाको साहित्यिक आकाशमा नयाँ कृति ‘ॐ तृप्यन्ताम’ नामक लघुकथा सङ्ग्रह उदाएको छ। साहित्यकार एवं पत्रकार शङ्कर खरेलले लेखेको यस सङ्ग्रहमा वर्तमान सामाजिक, राजनीतिक, धार्मिक विषयका लघुकथाहरू सङ्ग्रहित छन्। लेखकका साहित्यका विभिन्न विधामा करिब डेढ दर्जन कृति प्रकाशित छन्।
पितृ कार्यमा प्रयोग हुने शब्द ‘ॐ तृप्यन्ताम’ लाई नै पुस्तकको नाम दिइएको यस सङ्ग्रहमा ७८ वटा लघुकथा अटाएका छन्। राजनीतिमा हुने बेइमानी, सत्ता र सरकारमा जानलाई हुने मोलमोलाइ, भनाइ र गराइमा हुने अन्तर, न्यायिक क्षेत्रमा हुने विकृति, वैदेशिक रोजगारीमा जाँदाको सपना र बाकसमा फर्किनु पर्दाको पारिवारिक पीडाजस्ता ह्दयस्पर्शी विषयलाई समेटिएको छ।
विगतमा पुरस्कार, सम्मानमा हुने गरेका विकृति, विसङ्गति, सहकारीले गरिब जनताको पैसा लुटेको अवस्था, पैसाको लागि प्रेमको नाटक गर्ने र बलात्कारको आरोप लगाउने प्रेमिकाका चरित्रहरूलाई पनि कथाको रूपमा ल्याइएको छ। लघुकथाका विषयवस्तु आजको सबैले भोगिरहेकै समाजको भएकाले पाठकहरूले आफैँले भोगेजस्तो महसुस गर्न सक्नेछन्।
पुस्तकका बारेमा समीक्षा गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले सामाजिक पक्षलाई उजागर गर्दै लघुकथाको क्षेत्रमा नयाँ अभ्यास गरेको बताएका छन्। पुस्तकका लेखक खरेलले समाचार लेखनका क्रममा भेटिएका पात्र र तिनका समस्याहरूलाई नै समेटेर पुस्तक लेखेको उल्लेख गर्दै पत्रकारिता र साहित्यलाई आफूले सँगसँगै अगाडि बढाउँदै लैजाने बताए।
सो अवसरमा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ले पछिल्लो समय मानिसको बढ्दो व्यस्तताका कारण लघुकथाजस्ता लघु रचनाहरूको आकर्षण बढ्दै गएको बताए।