त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको १४ किलो सुन प्रकरणमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पनि पक्राउ गरेको हो।
१४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरेको छ। प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना समितिमा छन्।
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए। उनले वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजना बनाएका थिए।
यस क्रममा अनुसन्धानका लागि सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।