प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ विमान खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने उनले उल्लेख गरे ।
प्रधानमन्त्रीले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’
यसपटक हवाई सुरक्षामा केही सुधार भएको दाबी पनि उनले गरे। ‘त्यही सुधारको आधारमा इयुको कालोसूचिबाट हट्छौँ कि भन्ने विश्वास थियो,’ प्रधानमन्त्रीले भने, ‘तर हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईंहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्। नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हामी गर्ने छौँ।’