पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिने भएको छ ।
तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्का गरिएको छ । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।
खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
पोखरा–१६, दीपमा बनेको ड्याम आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।