एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बुधवार भएको समूह चरणको दुईवटा खेलबाट बंगलादेश र युएई सेमिफाइनलमा पुगे। यो सँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा पाकिस्तान र यूएई खेल्ने भएका छन् । पाकिस्तान समूह ‘ए’ को विजेता र यूएई समूह ‘बी’ को उपविजेता हो। यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारत र समूह ‘बी’ को विजेता बंगलादेश खेल्ने भएका छन्।
आज दुबईको एसीसी एकेडेमीमा भएको खेलमा बंगलादेशले श्रीलङ्कालाई ६ विकेटले हरायो। श्रीलङ्काले दिएको २०१ रनको लक्ष्य बंगलादेशले ४० ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो।
यस्तै आइसिसी एकेडेमी ग्राउन्ड–२ मा भएको खेलमा युएईले जापानलाई १०७ रनले पराजित गर्यो। युएईले दिएको ३२१ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २१३ रनमात्र बनाउन सक्यो।
प्रतियोगिताको सेमिफाइनल खेल आउँदो शुक्रवार हुनेछ भने फाइनल खेल आउँदो आइतबार हुनेछ।