बारामा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिन रहेका छन्।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र मेयर किशोरी साह कलवार कार्यालय पुगेपछि झडपको स्थिति सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
बुधबार नगरपालिका कार्यालय पुगेका मेयर कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत पक्षले आक्रमणको प्रयास गरेका थिए। उनीहरूले मेयरको गाडीमा तोडफोड गरे। प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभए पछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।