संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन्। सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका सभामुखको सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए । आज राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा सभामुखले पाण्डेलाई नियुक्त गरेका हुन्।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेका हुन्।
सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ।