यसवर्षको पहिचान पुरस्कार पत्रकार प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ (नयाँसडकको कथा) र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ लाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषले २०७९ सालको पहिचान पुरस्कार’ बाट गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट र राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट दुई वटा कृतिलाई पुरस्कार दिने विज्ञप्तिमार्फत् घोषणा गरेको छ । सो पुरस्कारको राशी ४ लाख रुपैयाँ छ । सो पुरस्कार २०८१ साल बैशाख २२ गते भोजपुरको ‘टेम्के मैयुङ’ (रिमाचुङ सिलीचुङ) गाउँपालीका–४ को सुन्दरडाँडा चखियाबाट वितरण गरिने कोषले जनाएको छ।
गुरागाईं र राई दुवै युवा पुस्ताका लेखक हुन्। पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय गुरागाईं उन्मुक्त पुस्ता आन्दोलनको अभियन्तामध्येका एक हुन्। उनको जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यको इतिहासलाई खोतलेको छ।
त्यस्तै, लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेकी राईले थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छन्।