आफ्नो शरीरमा बमबाट गम्भीर घाउहरू भएका चार वर्षीय बालक उमरले गाजाको अस्पतालमा ‘मेरा आमाबुवा, हजुरआमा खोई?’ यो प्रश्न बारम्बार सोधिरहन्छन्।
यो प्रश्न सुनेर उमरका एकमात्र जीवित नातेदार मोइन अबु रजाक भन्छन्, “जब उनले आफ्नो परिवारको बारेमा सोधे, मैले जवाफ दिन सकिनँ। मैले गहिरो सास फेरेँ र अरू कुराको बारेमा कुरा गरेर प्रश्नलाई टार्न खोजे।”
गाजाको अल-अक्सा अस्पतालमा भर्ना भएका उमरको अवस्था चिन्ताजनक छ। डाक्टरहरूले उमरको देब्रे हात काट्नु परेको छ। उमरको दाहिने खुट्टामा अझै घाउ छ।
उनको अनुहार र छातीमा पनि घाउ छ। उमरको बङ्गारामा चोट लागेको छ र उनको सानो शरीर धेरै ब्यान्डेजहरूले भरिएका छन्।
यी घाउहरु त्यतिबेला लागेका हुन् जब इजरायली आक्रमणबाट उमरको परिवारका ३५ सदस्यको ज्यान गएको थियो। ज्यान जानेमा उमरका आमा, बुवा र हजुरआमा पनि छन्।
उमरका आफन्त मोइनले उनको हालत अझ खराब नहोस् भनेर यी मृत्युको बारेमा नबताउने निर्णय गरेका छन्। हाल उमरलाई इजिप्ट हुँदै गाजाबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ। युएई सरकार र रेड क्रिसेन्ट सोसाइटीले यस्तो पहल सुरु गरेको हो।
मोइनले बीबीसी अरेबिकलाई भने, “उमरलाई उसको परिवारको मृत्यु बारेमा यसरी र यस्तो अवस्थामा भन्नुपर्ने हुन्छ कि उनी स्तब्ध नहुन्। ऊ त्यस्तो अवस्थामा नपुगोस् जसलाई म स्वयंले नियन्त्रण गर्न नसकुँ।’
उनी भन्छन्, “उमरलाई यो थाहा छ कि उसले आफ्नो परिवारका सदस्यहरूलाई देखेको छैन र उसले त्यसैले बारम्बार सोध्छ- आमा कहाँ छिन्, हजुरआमा कहाँ छिन्, अरु सबै मानिसहरू कहाँ गए?”
मोइन उमरको लागि चिकित्सा सहायता पाउनेमा आशावादी त छन् तर उमरलाई एम्बुलेन्सबाट इजिप्टको सीमामा लगिनेछ भन्ने कुनै ग्यारेन्टी छैन। किनभने मध्य गाजामा धेरै बम विस्फोट भइरहेका छन्।
इजरायली सेनाले गाजालाई दुई टुक्रामा विभाजन गरेको छ। ट्याङ्क र सिपाहीहरू अहिले दक्षिणी सहर खान युनुसतर्फ अघि बढिरहेका छन्।
देइर अल-बालाहको मुख्य राजमार्गलाई युद्धक्षेत्र घोषित गरिएको छ। जसका कारण यहाँ फसेका मानिसहरुसँग बाहिर निस्कने बाटो निकै कम छ।
उत्तरी गाजामा बसोबास गर्ने धेरै प्यालेस्टिनीहरूले मध्य क्षेत्रमा शरण खोजेका छन्। इजरायली सेनाले ती मानिसहरूलाई क्षेत्र खाली गरेर दक्षिणतिर जान भनेको थियो। यस्तो आदेश युद्ध सुरु हुने तयारी हुँदै गर्दा आएको थियो।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि यो युद्ध सुरु भएको हो। हमासको आक्रमणमा करिब १२०० जनाको ज्यान गएको छ। यस्तै २४० जनालाई बन्धक बनाइएको थियो।
यसको जवाफमा इजरायलले गरेको आक्रमणमा हालसम्म १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। चार वर्षीय उमर इजरायली आक्रमणमा घाइते भएका ४९ हजार व्यक्तिमध्ये एक हुन्।
इजरायलले आफ्नो सेनाले हमास चरमपन्थीलाई निशाना बनाएको बताइरहेको छ। यसमा चरमपन्थीहरूको लुकेको स्थान पनि समावेश छ। इजरायलका अनुसार युद्ध सुरु भएदेखि हालसम्म २२ हजारभन्दा बढी लक्षित क्षेत्रलाई निशाना बनाइएको छ।
मोइनले बीबीसी अरबीलाई बताए कि उमर र उनको परिवार देइर अल-बालाहको उत्तरमा रहेको नुसरत क्याम्पमा हजुरआमाको घर गएका थिए। जब उमरको परिवार यहाँ उपस्थित थियो, इजरायलले कुनै चेतावनी बिना आक्रमण गर्यो र मानिसहरू मारिए। साथमा उमरका परिवार पनि।
“हामीले यस्तो मिसाइल कहिल्यै देखेका थिएनौं,” मोइन भन्छन्, “मिसाइल खसे र सम्पूर्ण क्षेत्र ध्वस्त भयो। सौभाग्यवश घरको एक भाग खुला थियो जसका कारण उमर तल खसे। तर उनको देब्रे हातमा यति नराम्रो चोट लागेको थियो कि तत्कालै काट्नुपर्ने भयो।”
उनी भन्छन्, “उमर शरीरबाट शनिबार तीन युनिट रगत गएको थियो। उनको हेमोग्लोबिन पनि ७.४ भएको छ। रगत चढाउनको लागि शल्यक्रिया गरिएको छ।”
अस्पताल आइपुग्दासम्म उनको अवस्था निकै नाजुक रहेको मोइनले बताए। उमरको अवस्था नाजुक भएपनि उनको लागि बेड पाउन नसकेको उनी बताउँछन्। जसका कारण डाक्टर र नर्सले अस्पतालको करिडोरमै उमरको उपचार सुरु गरे।
उनी भन्छन्, “उपचारका लागि अत्यावश्यक सामाग्री सीमित छ। अस्पतालमा पेनकिलर छैनन्, त्यसैले पीडाबाट ध्यान हटोस् भनेर जोक सुनाएर मानिसलाई हँसाउने प्रयास गरिएको छ।” मोइनले यो विधिले केही मात्र काम गरे पनि आफूहरुसँग अर्को कुनै विकल्प नभएको बताउँछन्।
उमरलाई अब बिहीबारसम्म रफाह सीमामा लैजान सकिने आशा मोइनको छ। जहाँबाट उनी उपचारका लागि इजिप्टको अस्पताल जान सकुन्।