अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ।
अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ।
नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ।
गृहमन्त्री क्लेर ओ’ नीलले सोमवार एउटा पत्रकार सम्मेलन आयोजना गरेर सरकारको दशवर्षे आप्रवासन रणनीति सार्वजनिक गरिन्। यस वर्षको सुरुमा गरिएको एउटा समीक्षाले उक्त प्रणाली नराम्ररी भत्किएको, अनावश्यक रूपमा जटिल, सुस्त र प्रभावहीन भएको भन्दै त्यसमा ठूलो सुधार आवश्यक रहेको औँल्याइएको थियो।
सन् २०२३ को जुन महिनामा विदेशबाट ५ लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए। त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। गृहमन्त्रीले आफ्नो सरकारले आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने र देशमा भित्रने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताइन्।
यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ। अब विद्यार्थीहरूले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुने छ।
दोस्रो भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा गरिने बताइएको छ। त्यस क्रममा विद्यार्थीहरूले आफूले गर्न खोजेको थप अध्ययनले उनीहरूको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्ने छ।
सरकारी विवरणहरूका अनुसार हाल अस्ट्रेलियामा साढे छ लाख विदेशी विद्यार्थी छन्। तीमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन्।