नेपाल एसिसी यू-१९ एसिया कपमा जितविहीन नतिजा निकाल्दै घर फर्किने भएको छ। समूहको अन्तिम खेलमा पनि नेपाल भारतसँग पराजित भयो। आजको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो। यो लगातार तेस्रो हार हो।
प्रतियोगितामा नेपालको ब्याटिङ निकै दयनीय देखियो। आजको खेलमा त अझ कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि बनाउन सकेनन्। नेपालका हेमन्त धामीले बनाएको ८ रन नै सर्वाधिक रन बन्न पुग्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल भारतीय फास्ट बलर सामू घुँडा टेक्न बाध्य भयो। २२ दशमलव १ ओभरमा मात्र ५२ रनको स्कोरमा नेपाल अल आउट भयो। प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका अर्जुन कुमाल पनि आज चल्न सकेनन्। उनी र दिपक बोहरा समान ७/७ रनमा आउट भए।
भारतका राज लिम्बानीले ७ विकेट लिए। आरध्य शुक्लाको नाममा २ विकेट रह्यो।
जितका लागि ५३ रनको झिनो लक्ष्य पछ्याएको भारतले विना विकेट क्षतिमा ७ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो। भारतका अर्सिन कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे।