एसिसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा समेत नेपाल पराजित भएको छ। आजको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो।
जितका लागि २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा अल आउट भयो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाएर जितको आशा देखाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। नेपालको अन्तिम विकेटको रुपमा अर्जुन आउट भए। नेपालका लागि कप्तान देव खनालले २४ रन बनाए। यस्तै गुलशन झाले १७, दिपक बोहराले १५ र दिपेश कडेलले ११ रन बनाउनुवाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका फरिदुन र नसिर खानले समान ३/३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमशिद जदरानको शतकीय पारीमा ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर २६१ रन बनाएको थियो। जदरान रिटायर्ड आउट भएका थिए। उनले १०६ रन बनाए। यस्तै नुमन साहले ६०, रहिमुल्लाह जुरमतीले ३५ रन बनाए।
नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले समान २/२ विकेट लिँदा आकाश चन्द र दिपेश कडेलले १/१ विकेट लिए।
आजको हारसँगै नेपाल समूहको शीर्ष २ मा रहँदै सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ भने पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तानले सम्भावनालाई जिवितै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
अब नेपालले समूहको अन्तिम खेल भारतविरुद्ध खेल्नेछ।