काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरविरुद्धको लडाईंमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन्। सार्क फेडरेसन अफ अंकोलोजिस्ट र सार्क फेडरेसन अफ अंकोलोजिस्ट्स नेपालको आयोजनामा काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १८ औं सार्क फेडरेसन अफ अंकोलोजिस्ट्स क्यान्सर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले क्यान्सर न्युनिकरणका लागि सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताएका हुन्।
हिजोका दिनमा क्यान्सर भनेपछि निको नै नहुने रोगका रुपमा चित्रण गरिएको भए पनि वर्तमान अवस्थामा विज्ञहरुको मेहनत र नयाँ खोज अनुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रुपमा लिन थालिएको बताउँदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरुले आपसी अनुभव आदान प्रदान र उपचार विधिका बिषयमा गहन छफलफ गरेर ठोस परिणाम निकाल्न सक्ने विश्वास व्यक्त गरे।
क्यान्सर रोगको उपचारमा संलग्न चिकित्सकहरुको प्रशंसा गर्दै मन्त्री बस्नेतले भने, ‘तपाईंहरुको मेहनत र प्रयासले हामी क्यान्सर विरुद्धको लडाईं जित्न सक्छौ। यो अभियानमा सबैको संयुक्त अठोट आवश्यक छ। ’
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै प्रयास अगाडि सारेको बताउँदै मन्त्री बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले मृत्युवरण गर्न नपरोस भन्ने अभिप्रायले काम गरिरहेको दाबी गरे।
कार्यक्रममा सार्क राष्ट्रका क्यान्सर विज्ञहरुले क्यान्सर विरुद्धको लडाईंमा सबैको सहकार्य हुनु पर्नेमा जोड दिएका थिए। वलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर विज्ञहरुकै मेहनतका कारण आफूले क्यान्सरमाथि बिजय प्राप्त गरेको बताइन्।