नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन्। खेलको दोस्रो हाफको अत्तिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो। बुटवलका मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गर्न सफल भए।
त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए। खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ। समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ। उक्त लिगअन्तर्गत भोलि वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजदेखि सुरु हुनेछ।