एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
इजलासले खरिद-बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु-नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद-बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन भनेको छ।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएको थियो । उसले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो।