काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम आज पनि खुल्ने छैन। तर, तत्काल पानी पर्ने सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
उनका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ। यही प्रणालीका कारण कोशी प्रदेशका एक-दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ। अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताए।
आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन। केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए। उनका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ।
मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन। बिहान काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।