चीन र अमेरिकाले आफ्ना शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यता आवश्यक रहेको बताए। मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका थिए।
विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा भएको बताए। उक्त कानूनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनको भनाइ छ।
बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजरायल र हमासबीचको युद्धका सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहानलाई रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेका’ मा जोड दिए। विदेश मन्त्रालयका अनुसार वाङले भने, “प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनु पर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ।”
उनले प्यालेस्टिनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बन गर्नुपर्ने बताए। “चीन यस दिशामा प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार छ”, उनले भने।