नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए।
प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले बताए। फिल्ममा अधिकारीसँगै, आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतीलगायत कलाकारको अभिनय रहेको जनाइएको छ। फिल्मको कथा पनि अधिकारीले नै लेखेका हुन्। दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए।
फिल्मले काठमाडौँ र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उनको भनाइ छ। नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा फिल्मको छायाङ्कन गरिएको अधिकारीले बताए।
९९ सिनेमाजको ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेका छन्। उक्त फिल्मलाई ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमासमेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।