नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ। मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो। विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थिती थियो।
विदाइ कार्यक्रममा खड्काले भने, ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि अनुभव हो। नेपालको सिनियर टोलीको बेन्च स्ट्रेन्थको रुपमा सधैं यू-१९ रहँदै आएको छ। यो रेकर्ड बनाउने अवसर पनि हो। हरेक खेलमा शून्यबाट सुरु गर्नुपर्छ। यू१९ टोलीले नेपाली क्रिकेटमा सबैभन्दा बढी इतिहास रचेको छ।’
कप्तान देव खनालले तयारी राम्रो भएको बताए। ‘तयारी सबै राम्रो भयो। सिनियरले जस्तै राम्रो गर्दै मोमेन्ट्सलाई निरन्तरता दिने छौं। पछिल्ला दुई प्रतियोगिता विश्वकप छनोट र यू-१९ प्रिमियर कपमा जस्तै प्रदर्शन गरेर फर्किने छौं’, देवले भने।
मुख्य प्रशिक्षक जगत टमटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताए। ‘दुई हप्ता भन्दा बढी समय देखी मिहिनेत गरेका छौं। हरेक दिन ७ घन्टा मैदनमा बिताएका छौं। भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न उत्साहित छौं। यसअघि पनि टेस्ट टोलीलाई हराएका छौं’, टमटाले भने।
मंसिर २२ देखि पुष १ सम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएईछन्। शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपालको यू – १९ एसिया कप खेल्ने टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।