बझाङ – स्थानीय काँडा गाउँका दर्जनबढी ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये एकजना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ ‘भुटी दिदी’। हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते। २००८ सालमा जन्मिएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने। त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए। यसैमा बित्यो उनको ७३ वर्ष। घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो। यतिसम्म कि उनले विहे गर्नेसमेत समय पाइनन्।
आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटी दिदी भतिज टेक गुरूङको घरमा बस्छिन्।
गाउँमा तीन पुस्ताले नै उनलाई भुटी दिदी भनेर सम्बोधन गर्छन्। उनलाई चिन्नेले पनि भुटी दिदीकै नामले चिन्छन्। धामी, बोहरा, गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोवास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन्।
भुटी दिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा-भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेकी गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए।
भुटीदिदीले काखमा बोकेका भाइबहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन्। तर, भुटीदिदी भने आफन्तकै नातिनातिनालाई खेलाइरहेकी छन्। अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ। उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटी दिदी केही वर्षयता भने घरमै थन्किएकी छिन्।