काठमाडौं – स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ।
नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उनीहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरे। पुरस्कारको राशी जनही ५१ हजार रहेको छ।
दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरे। अग्रज स्रष्टा तारादेवीले ३ हजार ५ सय बढी गीतमा स्वर दिएकी छन्।
सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए। कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाएका विभिन्न गीत प्रस्तुत गरेका थिए।