रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।
यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
नवराज विककी प्रेमिका, भाइ र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।