पतिको हत्या गरेको आरोपमा उदयपुरमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षीय श्यामकुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निरकुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार श्यामको शव घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा फेला परेको थियो र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।