प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्म निरपेक्षताबारे मुलुकका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेको र सबै एक रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा सम्पादकहरूसँग कुरा गर्दै प्रचण्डले सबै प्रमुख दलले सोच विचार गरेरै संविधानमा सनातनदेखि चलिआएको धर्मको पनि रक्षा गर्ने र राज्य धर्महरूबीच निरपेक्ष रहे भनेर धर्मनिरपेक्षता राखेको बताएका हुन्।
पछिल्लो पटक धर्मका बारेमा विभिन्न नेताहरूको विभिन्न विचार आएको र नेपाली कांग्रेसको सभापतिले गणतन्त्र बाहेकका विषयमा संविधानमा भएका व्यवस्थाको बारेमा छलफल गर्न सकिन्छ भनेको विषयलाई लिएर प्रधानमन्त्रीले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिमा केही समयअघि हिन्दु धर्मको बारेमा छलफल भएको थियो। तर पार्टीले एक मतले संविधानका कुनै पनि मुख्य प्रावधान चलाउनु हुँदैन, नत्र धेरै कुरा बिग्रन्छ भन्ने निर्णय गरेको छ। त्यसले कांग्रेस संविधान हिन्दु धर्म राख्नुपर्छ भन्ने देखाउँदैन।’
प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले गणतन्त्र धर्म निरपेक्षताको बारेमा सार्वजनिक रूपमा पनि बचाउ गरिरहेको उनले बताए।
‘केपीजीले त सार्वजनिक रूपमा बोलिरहनु भएको तपाईंहरूले देख्नुभएकै छ’, उनले भने।
बाहिरका शक्ति र व्यक्तिहरूले संविधानमा हिन्दु धर्म राख्नेबारे चासो राख्दा आफूहरूले ‘तपाईंहरूकै देशमा हिन्दु धर्म राखे भयो नि’ भन्ने उत्तर दिने गरेको उनले बताए।
भारततर्फ इंगित गर्दै प्रधानमन्त्रीले भने, ‘डेढ अर्ब जनसंख्या र त्यसमध्ये ८० प्रतिशत हिन्दुहरू भएको भारतले नै संविधानमा हिन्दु धर्म राखे भयो नि भन्ने सुझाव दिने गरेका छौं।’
नेपाल मिलेर बसेको बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकोले यसलाई कसैले चलाउन नहुने उनले बताए।