प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमा बिहानदेखि बेलुकासम्म मानिसहरू अल्झिएर समाजमा नकारात्मक असर परेकाले टिकटक बन्द गरिएको बताएका छन्।
आफ्नो कार्यकक्ष सिंहदबारमा सोमबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘मेरै घरमा नातिनातिनाले जतिखेर नि टिकटक हेर्ने, अनि राति उठेर पनि टिकटक हेरेर दिक्कवाक्क लगाएका थिए, मैले कुरा सुन्दा अरूको पनि त्यस्तै हालत रहेछ।’
प्रमुख दलहरूको बैठकमा प्राय: सधैं सबै नेताहरूले टिकटकले गर्दा समाजमा धेरै समस्या र विकृति आएको भन्दै यसलाई बन्द गर्नुपर्ने सुझाउँदै आएको प्रधानमन्त्रीले बताए।
‘बैठक बस्यो कि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीजीले त किन ढिलो गरेको टिकटक बन्द गर्न? देश त यसले खत्तम गर्न लाग्यो भनेको भनै गर्नुभयो’, प्रधानमन्त्रीले भने।
सबभन्दा ठूलो पार्टीको सभापति शेरबहादुर देउवाले पनि टिकटकले समाजलाई असर गरेको भन्दै यसलाई बन्द गर्न ढिलो गर्न नहुने सुझाएको प्रधानमन्त्री प्रचण्डले बताए।
‘सबै नेताहरूबाट त्यस्तो सुझाव आएपछि र मैले आफ्नै घरमा पनि समस्या देखेपछि हामीले टिकटक बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने।