नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यसाथ दोस्रो भयो ।
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो । त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्य साथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्य साथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्य–सचिव युवराज लामा, कराते महासंघका महासचिव दावा गुरुङलगायतले पुरस्कृत गरे ।