जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको मुद्दामा स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी, सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसुरमा अपूर्व क्षितिलाई दोषी ठहर गर्दै जरिवाना गरेको हो । पृथविन्दु महर्जनलगायतले दिएको उजुरीमा क्षितिजलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम १० हजार जरिवाना गरिएको हो ।
स्ट्यान्ड अप कमेडी गर्ने क्रममा नेवारी लवज र जातीलाई व्यंग्य गरिएको भन्दै अपूर्व क्षितिजविरुद्ध उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले २०७९ भदौ दोस्रो साता पक्राउ परेका थिए । उनलाई त्यतिबेला २ लाख धरौटीमा छोडिएको थियो ।
जिल्ला अदालतबाट दोषी ठहर भएर जरिवाना गरिएपछि अपूर्व क्षितिज सिंहले यो मुद्दाले वाक स्वतन्त्रतामा प्रभाव पर्ने बताए । उनले अदालतबाट पूर्णपाठ आएपछि पुनरावेदनका लागि उच्च अदालत जाने बताए । यो नजीरले चलचित्रकर्मी, लेखक, कलाकार, गायकलाई समस्या हुने उनको भनाइ छ ।