राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताएका हुन् ।
रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको बताए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कारण देशको अर्थतन्त्रमा समस्या देखिए पनि सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निराशा छाएको उनले जिकिर गरेका थिए ।
आम नागरिकले देशमा बढी नेता भएकै कारण देश बिग्रँदै गयो भनेर अहिले नागरिक व्यवस्थाकै विरोधमा उत्रेको लामिछानेले दाबी गरे । संसारको उत्कृष्ट व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध गर्नुहुँदैन बरु यसलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले विचार व्यक्त गरेका थिए।