टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।
सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।