पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो) लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो। सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो।
खेलमा जीतका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको आयोजकले १४ ओभरको दोस्रो बलमा अलआउट हुँदै जम्मा ७५ रनमात्र जोड्न सफल भयो। ‘म्यान अफ दि म्याच’ घोषित बागमतीका रीत गौतमले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले। शुभ कंसाकारले २२ बल खेल्दै २७ रन बनाए। आयोजक रातोका बिप्रासन केसीले दुई तथा सन्देश थापा र सन्तोष यादवले समान एक–एक विकेट लिए।
बागमतीका सन्दीप लामिछानेले चार तथा सुवास खत्रीले तीन विकेट लिए। आयोजकका अमर मिश्र र विजय प्रजापतिले समान १३–१३ रन, सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए पनि अन्यले दोहोरो अङ्कको रन ल्याउन सकेनन्।
शुक्रबार दोस्रो दिनको खेल कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।