वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई म्याच फिक्सिङ गरेको ठहर गर्दै ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ।
इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) को एन्टी करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले इसिबीको आग्रहमा यसअघि निलम्बन गरेको थियो।
अहिले आइसिसीले उनलाई ६ वर्षका लागि सबै क्रिकेटबाट प्रतिबन्ध लगाएको हो।
युएईको टी-१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए।
सन् २०१९ मा आबुधाबी भएको टी-१० मा सामुएल्स कर्नाटक टस्कर्समा अनुबन्धित थिए । तर, उनले लिग भने खेलेनन् । सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको हो । स्यामुएल्समाथिको प्रतिबन्ध नोभेम्बर ११ देखि लागू भएको छ ।
सन् २०१२ र २०१६ को ट्वान्टी २० विश्वकपमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाएका उनले अन्तिमपटक २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । स्यामुयल्सले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
स्यामुयल्सले वेस्ट इन्डिजका लागि ७१ टेस्ट, २ सय ७ एकदिवसीय र ६७ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेल्दा ११ हजार १ सय ३४ रन बनाउनुका साथै १ सय ५२ विकेट पनि लिएका छन् ।