अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले बन्धक बनाएकामध्ये कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ।
इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ।
आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हमासद्वारा बन्धक बनाइएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन् । सीसीटीभी फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पनि पुष्टि भएको आईडीएफले जनाएको छ । इजरायली सेनाले घाइतेहरूलाई हमासले अस्पताल लैजाँदै गरेको फुटेजहरू सार्वजनिकसमेत गरेको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।