आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन्।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुनेछ।
सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए।
जारी विश्वकपको लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ।
अष्ट्रेलिया लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो।
विश्वकपको इतिहासले भारतभन्दा अष्ट्रेलिया बलियो देखाउँछ।
अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।
भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो।
भारतमा चलिरहेको एकदिवसीय विश्वकप १३औँ संस्करण हो । सन् १९७५ मा पहिलोपटक इंग्ल्यान्डले आयोजना गर्न अवसर पायो । सो प्रतियोगिता ६० ओभरको भएको थियो । सन् १९८७ देखि प्रतियोगिता ५० ओभरमा झारियो । एकदिवसीय विश्वकपमा ५० र ६० ओभरको विश्वकप जित्ने भारत मात्र एक्लो राष्ट्र हो । वेस्ट इन्डिज र भारतले समान दुईपटक उपाधि हात पारेका छन्। अस्ट्रेलिया सर्वाधिक ५ पटकको विजेता हो। इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक–एकपटक उपाधि जितेका छन्।