हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो ।
पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएकी रुविना अन्तिम ओभरमा आउट भएकी थिइन् । इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए ।
नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन्। यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन् ।
कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको इनिङ खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै नटआउट रहिन् । अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।
जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।
नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेल्ने दौडबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो । नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापानकै सामना गर्नेछ।