शुक्रबार राति धनगढीस्थित सारथि अस्पतालमा आगलागी भएको छ । अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागी फैलिएर अस्पतालमा पनि क्षति पुर्याएको हो ।
अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राति नै सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए।
‘अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरूलाई भने तत्काल सेतीमा सिफ्ट गर्यौं,’ जोशीले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनमा सारथी अस्पताल सञ्चालन हुँदै आएको थियो ।
मध्यराति साढे १२ बजे भएको आगलागी नियन्त्रण गर्न धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
साथै, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीसमेत खटिएको थियो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार भण्डारी सुज सेन्टरमा विद्युत् सर्टपछि आगलागी भएको हो । आगलागीबाट अस्पताल र सँगै जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको भएको छ ।