लगातारको आलोचना र दबाबका कारण पाकिस्तानी क्रिकेट खेलाडी बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका छन् । बाबर आजमले आफ्नो अफिसियल एक्स अकाउन्टमा एक पोस्ट सेयर गरेका छन् ।
बाबर आजमले कप्तानी छोड्ने निर्णयबारे लेखेका छन्, ‘मलाई त्यो क्षण राम्ररी याद छ जब मलाई २०१९ मा पाकिस्तानको नेतृत्व गर्न PCB बाट कल आयो। विगत चार वर्षमा मैले मैदानमा र बाहिर धेरै उतारचढाव देखेको छु, तर मैले मेरो सम्पूर्ण हृदय र समर्पणका साथ क्रिकेट जगतमा पाकिस्तानको गौरव र सम्मान कायम राख्ने लक्ष्य लिएको छु।’
बाबर आजमको कप्तानीमा पाकिस्तानी टोली एकदिवसीय क्रिकेटमा नम्बर एक स्थानमा पुगेको थियो ।
आफ्नो राजीनामाको बारेमा उनले भावुक पोस्टमा भनेका छन्, ‘आज म पाकिस्तानको सबै फर्म्याटको कप्तानबाट राजीनामा दिँदैछु । यो एक कठिन निर्णय हो तर मलाई लाग्छ कि यो सही समय पनि हो। म तीनवटै फर्म्याटमा खेलाडीका रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहनेछु। म नयाँ कप्तान र टोलीलाई मेरो अनुभव र समर्पणका साथ समर्थन गर्न त्यहाँ हुनेछु। मलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पनुभएकोमा पाकिस्तान क्रिकेट बोर्डलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’
रिपोर्टका अनुसार बाबर आजमले कप्तानी छोडेपछि कप्तानका लागि शाहिन शाह अफ्रिदी, मोहम्मद रिजवान र शान मसूदको नाम आउन सक्छ । यद्यपी पीसीबीले यो खबरको आधिकारिक पुष्टि गरेको छैन तर छिट्टै निर्णय लिइनेछ ।