काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिकटक बन्द गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘बन्द समाधान हैन, यो बन्द टिकटक नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’
टिकटकले विकृतिमात्रै नल्याएको बालेनको तर्क छ। ‘टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो, साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको थियो साथै नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो’, बालेनले भनेका छन्।
उनले टिकटकमार्फत बनेका आफ्ना फेक आइडीले दु:ख दिए पनि यसलाई बन्दै गर्नुपर्छ भन्ने पक्षमा आफू भने नरहेको प्रष्ट पारेका छन्। उनले सरकारलाई अनुरोध गर्दै भनेका छन्, ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला।’