राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गर्दै ‘नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने’ टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा बन्द गर्ने काम भएको भन्दै उनले विषयवस्तुको नियमन गर्नुपर्नेमा माध्यमलाई नै प्रतिबन्ध लगाउन खोजिएको टिप्पणी गरे । ‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?’
टिकटकका कैयौं प्रयोगकर्ता र तिनका विषयवस्तु खराब भएपछि सबै गलत नभएको उनले बताएका छन् । उनले गलत भएकै आधारमा यस्तो निर्णय हुने भए सबै प्लेटफर्मलाई बन्द गर्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन् ।
‘आजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया)को विकल्प सुधारिएको सामाजिक सञ्जाल हो’ रविले लेखेका छन्, ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’